प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 SILLAGA EKADASHI - 26

WASH क्षेत्रमा स्रोत समायोजन : बन्न सक्छ, दोहोरो खर्च घटाउने प्रभावकारी विधि

WASH

काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा दिगो उपलब्धि हासिल गर्न स्रोत समायोजन (Resource Pooling) को अभ्यासलाई नेपालमा प्रभावकारी रणनीतिका रूपमा अघि बढाइएको छ। विभिन्न सरोकारवाला निकायहरू बीच स्रोत साझेदारी गर्दै साझा लक्ष्य हासिल गर्ने यो अवधारणाले दोहोरो लगानी घटाउँदै समन्वय र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

स्रोत समायोजन भन्नाले संघीय, प्रदेश र स्थानीय सरकार, विकास साझेदार तथा अन्य संस्थाहरूले आफ्ना वित्तीय, मानवीय, प्राविधिक, पूर्वाधार तथा ज्ञान–सूचनामूलक स्रोतहरू एकीकृत रूपमा प्रयोग गर्नु हो। यसले WASH क्षेत्रमा देखिँदै आएको परियोजना दोहोरिनु, टुक्रिनु र असन्तुलित लगानीको समस्या न्यूनीकरण गर्न स्रोत समायोजन (Resource Pooling) ले मद्दत गर्ने राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले बताउनुभयो।

नेपालमा WASH क्षेत्रमा वित्तीय स्रोत समायोजनको अभ्यास संघीय, प्रदेश र स्थानीय सरकार बीचको संयुक्त लगानी तथा विकास साझेदारहरू सँगको सहकार्य मार्फत भइरहेको छ। विशेष गरी क्षेत्रगत (Sector-wide) र कार्यक्रम Program-based) मा आधारित बजेट प्रणाली मार्फत खानेपानी तथा सरसफाइ आयोजनामा सह-लगानी (co-financing) को अभ्यास बढ्दो क्रममा छ।

यस प्रकारको वित्तीय समायोजनबाट ठूलो र पूर्वानुमानयोग्य बजेट सुनिश्चित हुनुका साथै राष्ट्रिय WASH प्राथमिकतासँग कार्यक्रमहरू राम्रो सँग मेल खाने र साना–साना परियोजनामा सीमित रहने प्रवृत्ति घट्ने कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

स्रोतको साझा प्रयोग

WASH क्षेत्रमा स्रोत समायोजन बजेटमा मात्र सीमित नभई इन्जिनियर, जनस्वास्थ्य अधिकृत, सामाजिक परिचालक जस्ता प्राविधिक जनशक्तिको पनि साझा प्रयोग गर्न सकिन्छ। विभिन्न निकायहरू बीच प्राविधिक क्षमता आदान–प्रदान गर्दा सेवा गुणस्तर सुधार हुने र स्थानीय तहको क्षमता मजबुत बन्ने कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

यसका लागि WASH क्षेत्रीय कार्य समूह (WASH sector working groups),प्राविधिक कार्यदल जस्ता समन्वय संयन्त्रहरू प्रभावकारी माध्यम बन्दै आएका छन् । जसले नीति, योजना र कार्यान्वयन तह बीचको दूरी घटाउन सहयोग पुर्‍याइरहेका छन्।

WASH क्षेत्रमा स्रोत समायोजनको मूल सिद्धान्त भनेकै दोहोरो काम घटाउने, समन्वय बढाउने र सीमित स्रोतबाट बढी प्रभाव निकाल्ने हो। दिगो विकास लक्ष्य (SDG) अन्तर्गत सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्न स्रोत समायोजनलाई अझ संस्थागत गर्नुपर्नेमा उहाँको जोड छ।

‘स्पष्ट भूमिका, पारदर्शी समन्वय र साझा उत्तरदायित्व सुनिश्चित गर्न सके स्रोत समायोजनले नेपालको WASH क्षेत्रलाई दिगो र समावेशी दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ’ उहाँले भन्नुभयो।